एसिया कप छनोट क्रिकेट:नेपाल हङकङसँग पराजित, एसिया कप खेल्ने सपना चकनाचूर

 

भदौ,१९ / खगेन्द्र खरेल
एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाँउदै टोलीको जित पक्का गरे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २७ रनमात्र खर्चिए । यो हारसँगै एसिया कप खेल्ने नेपालको सपना चकनाचूर भएको छ ।

हालैमात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुआती दुई खेलमा ओमन र युएईसँग हारेको थियो ।

मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमनले युएईलाई त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना जीवित थियो ।

तर, क्वालालम्पुरको युकेएम ओभलमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोड्दा बसन्त रेग्मीले अविजित १५ रन तथा अनिलकुमार शाहले १५ रन जोडे । ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा हङकङका इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए भने मोहम्मद अजिज खान र तनवीर फैजलले समान २/२ विकेट झारे ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *