भूकम्पमा मृत्यु भएको ठानी काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

 

असोज,५ / खगेन्द्र खरेल
झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भए ।

भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनको ठूलोबुबा हरि बूढाले जानकारी गराए ।

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनका ठूलो बुबाले भने, ‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे ।’ जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोवार बन्द गरेर आफू पोखरा आएको उनले बताए ।

उनका अनुसार छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ । बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् ।

उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोेछोरा जीवनको काजकिररिया गरिएको उनले बताए ।

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए । पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पुर्‍याउने धामीको धोको छ ।

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतिक्षारत छन् । जीवनलाई भेटेर लिएरमात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिरहेका छन् । (रासस)

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *