Monday , 25 September 2017
Home / देश / सत्तारुढ दल र राजपाबीचको वार्ता निष्कर्षबिहीन,राजपा निर्बाचनमा सहभागी नहुने संकेत

सत्तारुढ दल र राजपाबीचको वार्ता निष्कर्षबिहीन,राजपा निर्बाचनमा सहभागी नहुने संकेत

२८ जेठ २०७४ / खगेन्द्र खरेल
सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि निष्कर्षविहीन भएको छ । राजपा नेपालले स्थानीय तहको निर्वाचनको मिति पर सार्न र त्यसअघि राजनीतिक सहमति जुटाउन गरेको प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरेपछि बैठक निराशाजनक भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजपा नेपालका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधन, स्थानीय तहको संख्या थप गर्नेलगायतका विषयमा सहमति जुट्न नसकेपछि राजपा नेपाललाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने सत्तारुढ दलको प्रयास असफल भएपछि राजपा निर्बाचनमा सहभागी नहुने संकेत देखिन थालेको छ ।

बैठकमा सत्तारुढ दलका नेताहरुले स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन गर्न सम्भव नहुने भन्दै अहिले स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपा नेपालका नेताहरुलाई आग्रह गरेका थिए । उनीहरुले राजपा नेपाललाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन दल दर्तासम्बन्धी निर्वाचन कानुनलाई परिमार्जन गरेर दल दर्ताको व्यवस्था मिलाउने प्रस्ताव राखेका थिए ।

त्यसैगरी सत्तारुढ दलहरुले राजपाले भनेकै चुनाव चिह्न दिन सकिने व्यवस्थासमेत गर्न सकिने प्रस्ताव गरेका थिए । तर, राजपा नेपालका नेताहरुले भने संविधान संशोधन गरेर आफूहरुका माग सम्बोधन गर्नुपर्ने, त्यो हुन नसके स्थानीय तहको संख्या थप र सिमाना हेरफेर गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

स्थानीय तहको संख्या थप र सिमाना हेरफेर गरी संविधान संशोधन गर्न केही समय लाग्ने भए निर्वाचनको मिति पर सार्नुपर्ने उनीहरुको प्रस्ताव थियो । त्यस क्रममा सत्तारुढ दलका नेताहरुले भने स्थानीय तहको संख्या थप र सिमाना हेरफेर सर्वोच्च अदालतको आदेशका कारण तत्काल सम्भव नहुने बताएका थिए ।

संविधान संशोधन, स्थानीय तहको संख्या र सिमाना हेरफेरमा कुरा नमिलेपछि राजपा नेपालका नेताहरु बैठकबाट बाहिरिएका थिए ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *