Sunday , 22 October 2017
Home / देश / एसइईको नतिजा सार्वजनिक : नियमिततर्फ ४ लाख ४५ हजार ५६४ र एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण

एसइईको नतिजा सार्वजनिक : नियमिततर्फ ४ लाख ४५ हजार ५६४ र एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण

२ असार २०७४ / खगेन्द्र खरेल
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न भएका सबै परीक्षार्थी उत्तीर्ण भएका छन् ।

पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामकरण गरेको छ ।

पनिकाले अघिल्लो वर्षदेखि लेटर ग्रेडिङ सिस्टममा नतिजा प्रकाशित गर्न थालेको हो । ऐनमा कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुने भनिए पनि राष्ट्रिय परीक्षा बोर्डको संरचना व्यवस्थित नभएका कारण विगतमा एसएलसी सञ्चालन गर्ने पनिकाबाट परीक्षा सञ्चालनदेखि नतिजा सार्वजनिकसम्मका काम भएका हुन् ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमितमा ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।

परीक्षाको नतिजा थाहा पाउन १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *