Tuesday , 17 October 2017
Home / देश / पुनर्लेखन गर्दै चिकित्सा शिक्षा विधेयक पारित:डा,केसीको अनसन तोड्ने बाटो खुल्ला

पुनर्लेखन गर्दै चिकित्सा शिक्षा विधेयक पारित:डा,केसीको अनसन तोड्ने बाटो खुल्ला

 

२७ साउन,२०७४ / खगेन्द्र खरेल
संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले अघिल्लो दिन गरेको संशोधन पुनर्लेखन गर्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। शुक्रबारको समिति बैठकले उक्त निर्णय गरेको हो। यो निर्णयसँगै डा. गोविन्द केसीको अनसन तोड्ने बाटो खुलेको छ। केसी अनसनको आज १९ औं दिन हो।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहानै बालुवाटार निवासमा भएको सहमतिअनुसार संशोधन पुनर्लेखन गरिएको हो। नयाँ विधेयकलाई अब संसदको पूर्ण बैठकमा निर्णयार्थ पेस गरिनेछ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले शुक्रबार बेलुकीसम्म डा. केसीको अनसन तोडिने समितिमा जानकारी दिए। नयाँ विधेयकमा मुख्य तीन संशोधन गरिएका छन्। पहिलो, मनसायपत्र लिइसकेका संस्थाका हकमा यो ऐन पारित भएपछि यसैमा तोकिएको मापदण्ड पूरा गरेको रहेछ भने सम्बन्धन दिन बाधा पुग्ने छैन भनी पुनर्लेखन गरिएको छ।

ऐनले मापदण्ड बनाउने काम चिकित्सा शिक्षा आयोगको हो भन्ने किटान गरेको छ। स्वास्थ्य मन्त्रालयले पनि मेडिकल कलेज सञ्चालनको निम्ति छुट्टै मापदण्ड तय गर्ने व्यवस्था छ। विश्वविद्यालयले पनि मेडिकल कलेज सञ्चालन गर्न योग्य छ भनी अनुमति दिनुपर्नेछ।

दोस्रो, मेडिकल कलेजको सम्बन्धन पाउन कम्तिमा दुई वर्ष अस्पताल सञ्चालन गरेको हुनुपर्नेछ। तेस्रो, कानुनको प्रस्तावनामै केदारभक्त माथेमा संयोजकत्वको ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन– २०७२’ को कुरा उल्लेख गरिनेछ। केसीकै अनसनको बलमा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पालामा गठन भएको यो कार्यदलले स्वास्थ्य क्षेत्र सुधारका एजेन्डा र त्यसको समाधान लिपिबद्ध गरेको थियो।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *