Monday , 25 September 2017
Home / देश / नेपालको विकासका लागि अमेरिकाले गर्‍यो ५० करोड डलर स्वीकृत

नेपालको विकासका लागि अमेरिकाले गर्‍यो ५० करोड डलर स्वीकृत

 

२ भदौ,२०७४ / खगेन्द्र खरेल
अमेरिकी सरकारको मिलेनियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) को सञ्‍चालक समितिले ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ।

यो एमसीसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट कार्यक्रम हो। एमसीसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अमेरिकी कंग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अमेरिकी दूतावासले जनाएको छ।

प्रारम्भिक चरणमा एकमुस्ट रूपमा कुनै एक मुलुकबाट हुने योगदान मध्ये नेपालको योगदान एमसीसीकै इतिहासमा सबैभन्दा ठूलो रकम हो। डिसेम्बर २०१४ मा एमसीसीको सञ्‍चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेदेखि नै उक्त कार्यक्रम विकसित गर्न थालिएको हो।

विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्‍नका साथै एमसीसीको नीतिगत स्कोरबोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनको कदर स्वरूप नेपाललाई एमसीसीको अनुदानमा आधारित यस बृहत् आकारको लगानीका लागि योग्य ठहराइएको हो।

नेपालले २०७२ असोजमा नयाँ संविधान जारी गरी यसै वर्ष दुई चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिसकेको छ भने तेस्रो तथा अन्तिम चरण असोजका लागि तय गरिएको छ। नेपालमा स्थानीय तहको निर्वाचन २० वर्षमा पहिलो पटक भएको हो। राष्ट्रपति ट्रम्प नेतृत्वको सरकार अन्तर्गतको एमसीसी सञ्‍चालक समितिले स्वीकृत गरेको यो नै पहिलो कम्प्याक्ट कार्यक्रम हो।

कम्प्याक्ट कार्यक्रम अन्तर्गत दुई परियोजना रहेका छन्। विद्युत् उत्पादनमा नयाँ लगानीलाई समर्थन गर्नका लागि विद्युत् प्रसारणको उच्च भोल्टेज सञ्‍जाललाई विस्तार र मजबुतीकरण गर्दै नेपालको विद्युत् क्षेत्रलाई रूपान्तरण गर्ने गरी विद्युत् प्रसारणसम्बन्धी परियोजनालाई तर्जुमा गरिएको छ।

परियोजनाअन्तर्गत करिब ३०० किलोमिटर (नेपालको लम्बाइको एक तिहाइ सरह) लामो उच्च भोल्टेज विद्युत् लाइन निर्माण गर्ने बताइएको छ।

मिलेनियम च्यालेञ्‍ज कर्पोरेसन आर्थिक वृद्धिमार्फत विश्‍वव्यापी गरिबीको न्यूनीकरणका लागि कार्यरत एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो। सन् २००४ मा स्थापित एमसीसीले भ्रष्टाचार विरुद्ध सङ्‍घर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका कडा मापदण्ड पूरा गर्ने विपन्न देशहरूलाई सीमित अनुदान र सहायता प्रदान गर्दछ।

 

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *